काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।
एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले सत्ता गठबन्धनले मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको भन्दै गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाएका हुन् ।
ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको टिप्पणी गरे ।
अब पनि अनेक प्रतिगामी परमादेश आउन सक्ने भन्दै उनले एमालेले मुलुक र लोकतन्त्रलाई तलमाथि हुन नदिने बताए । एमाले नभएको भए १७ साल दोहरिने खतरा देखिएको उनले तर्क गरे । उनले एमालेका लागि सरकार नभएर मुलुक पहिला प्राथमिकता भएको स्पष्ट पारे । अहिलेको गठबन्धन लोकतन्त्रको भक्षक भएको टिप्पणी गर्दै ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य, मान्यता होइन, सत्ता चाहिएको छ । यिनीहरुलाई देश होइन, व्यक्तिगत स्वार्थ पूरा गर्नुछ ।’
एमाले अध्यक्ष ओलीले बाबुराम भट्टराई भूमिगत हुदा उनका छोराछोरी बेलायत पढ्न गएको भन्दै आम्दानी र भिसाका विषयमा प्रश्न उठाएका थिए । ‘बाबुरामका छोराछोरी बेलायत पढ्थे । हामी बेलायत जाने भिसा पाउँदैनथ्यौँ, तर बाबुरामका छोराछोरीले भिसा पाउँथे । त्यसमा कसरी, के जादू होला ?’ उनले भने, ‘बेलायतको शिक्षा, जहाँ कमसेकम २–४ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनु भएको थियो ? भूमिगत हिंड्दाखेरि कहाँको आम्दानी आम्दानीले पढाउनु भएको थियो ?’
उनले अहिले विभिन्न स्थानमा एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै एमाले अव शसक्त भएर अघि बढ्ने दाबी गरे ।