काठमाण्डौं- गएराती स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि ईटाली समग्रमा १–० ले पराजित हुँदै बिश्वकप फुटबलको छनोट चरणबाटै बाहिरिएको हो ।
चार पटकको विश्वकप बिजेता ईटाली अर्को बर्ष रसियामा हुने बिश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । ६ पटक फाईनलमा पुगेको ईटाली ६० बर्षपछि पहिलो पटक विश्वकप फुटबलबाट बाहिर रहने भएको छ ।
यस क्रममा उसले ४ पटक विश्वकपको उपाधि जितेको थियो भने २ पटक उपबिजेता बनेको थियो । विश्वकप फुटबलमा एक पटक तेस्रो र एक पटक चौथो भएको ईतिहास पनि ईटालीसंग छ ।
सन् १९३० मा छनोट भएरपनि विश्वकप फुटबल खेल्न अस्वीकार गरेको ईटाली त्यसयताका सबै संस्करणमा छनोट हुदै आएको थियो ।
अवे खेलअन्तर्गत पहिलो लेगमा स्विडेनसंग १–० ले पराजित भएको ईटालीले घरेलु मैदानमा आफु नियन्त्रित खेल गोल गर्न नसक्दा विश्वकपमा प्रबेश गर्न असफल भएको हो ।
७४ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको ईटालीले स्विडेनको पोष्टमा २७ प्रहार गरेको थियो । उसका आधा दर्जन सशक्त प्रहार स्विडेनका गोल रक्षकले वचाउ गरेका थिए । स्विडेन विश्वकपमा छनोट भएको यो १२ औं पटक हो ।