काठमाडौँ — गएराति रसुवा जिल्लामा आएको भीषण बाढीले ठूलो धनजनको क्षति पुर्‍याएकोप्रति नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले गहिरो दुःख व्यक्त गरेका छन्।


ADVERTISEMENT


बानियाँले एक वक्तव्य जारी गर्दै निरन्तर भइरहेको वर्षाका कारण अझै जोखिम कायमै रहेको भन्दै गहिरो दुःख व्यक्त गरेका हुन् । उनले तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि संघ, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी कदम चाल्न समेत आग्रह गरेका छन्।


ADVERTISEMENT

# # #


“यो कठिन घडीमा नेपाली कांग्रेसका सबै तहका संगठन, भातृ संस्थाहरू तथा शुभेच्छुकहरूलाई आ–आफ्नो स्थानबाट सक्रिय भई विपद् व्यवस्थापनमा सहयोग गर्न म अनुरोध गर्दछु,” सभापति बानियाँले भनेका छन्।

चीनको सीमा क्षेत्रमा परेको अविरल वर्षापछि भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न स्थानहरू प्रभावित बनेका छन्। बाढीमा परी हालसम्म १२ जना नेपाली र ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्। साथै, नेपाल–चीन मितेरी पुल, रसुवागढी हाईड्रोपावर, सडक र अन्य भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ।

हाल प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय निकायको सहकार्यमा उद्धार कार्य जारी रहेको छ। मौसम अझै अनुकूल नहुँदा थप सतर्कता अपनाउन आग्रह गरिएको छ।