काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवशेनको मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि मतदान साढे तीन घण्टापछि सुरु भएको हो ।
केही प्राविधिक समस्यका कारण महाधिवेशन ढिलो भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेस महाधिवेशनमा यस पटक तीन वटा चारवटा प्यानल भिड्दैछन् । केहीले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् ।
सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भिड्दैछन् । यस्तै उपसभापतिको दुई सिटका लागि ७ जनाको उम्मेदवारी परेको छ । जस अनुसार डा.चन्द्र भण्डारी, दिव्यश्वरी साह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजय कुमार गच्छदार र सुजाता कोइराला उम्मेदवार छन् ।
भण्डारी र गुरुङ शेखर प्यानलका हुन् भने खड्का र गच्छदार देउवा प्यानलका हुन् । यस्तै साह निधि प्यानलबाट उठेकी छन् भने कोइराला प्रकाशमान प्यानलकी उम्मेदवार हुन् । आचार्यले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै २ महामन्त्रीका लागि पनि ६ जना भिड्दैछन्। गगन कुमार थापा, डा. प्रकाश शरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुँदैछ । थापा र रिजाल शेखर प्यानलका उम्मेदवार हुन् भने महत पौडेल देउवा प्यानलबाट उठेका हुन् ।
कार्की निधि प्यानलबाट उठ्दा शर्मा प्रकाशमान सिंह समूहबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।