जनकपुरधाम – नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन् । एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मन्त्रीहरूले राजीनामा बुझाएर सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन् ।
मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनमा सहभागी छ ।
एमाले सरकारबाट बाहिरिएसँगै मधेस प्रदेशको राजनीतिक समीकरणमा परिवर्तन आएको छ । एमालेले समर्थन फिर्ता लिएपछि प्रदेश सरकारको आगामी अवस्था र नयाँ सरकार गठनको सम्भावनाबारे राजनीतिक चासो बढेको छ ।



























