काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीमा सहकर्मी गुमाउनु प्रहरी संगठनका लागि सबैभन्दा पीडादायी क्षति भएको बताए ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै उनले कर्तव्यपालनाका क्रममा प्रहरी कर्मचारीले यस वर्ष ठूलो विपद्को सामना गर्नुपरेको बताए ।
आईजीपी कार्कीका अनुसार भोटेकोशीको बाढीबाट २८ जना प्रहरी कर्मचारी प्रत्यक्ष प्रभावित भएका थिए। तीमध्ये तीन जना प्रहरी कर्मचारीले राष्ट्रसेवाका क्रममा ज्यान गुमाएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्।
उनले विपद्को सबैभन्दा पीडादायी पक्ष नै कर्तव्यपालनाका क्रममा आफ्नै सहकर्मी गुमाउनु रहेको उल्लेख गरे । भोटेकोशी र त्रिशूलीको बाढी प्रहरी संगठनको संस्थागत स्मृतिमा पीडा, साहस र कर्तव्यनिष्ठाको गहिरो अध्यायका रूपमा अंकित भएको उनको भनाइ थियो।
भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रहरीले कठिन भौगोलिक परिस्थितिका बाबजुद अन्य सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय सहायताका काममा अग्रपङ्क्तिमा रहेर काम गरेको कार्कीले बताए।
प्रहरी दिवसका अवसरमा उनले कर्तव्यपालनाका क्रममा हालसम्म १ हजार ७९८ जना प्रहरी कर्मचारीले वीरगति प्राप्त गरेको जानकारी दिए। अमर प्रहरीको योगदानको स्मरण गर्दै उहाँले जस्तोसुकै कठिन परिस्थितिमा पनि विधिको शासन सुनिश्चित गर्न नेपाल प्रहरी प्रतिबद्ध रहने बताए। उनले प्रहरी संगठनलाई नागरिकको सुरक्षा, कानुनको कार्यान्वयन र विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा समेत जोड दिए ।



























