काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँगको सहकार्यमा ग्राहकलाई डिजिटल माध्यमबाट खरिद कर्जा तथा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराउने भएको छ।
बैंकले लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन प्रारम्भिक सम्झौता गरेको हो। यससँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा तत्काल लुप क्रेडिट सुविधा लिन सक्नेछन्।
त्यस्तै, ग्राहकले आफ्नो कार्डबाट गरेको भुक्तानीलाई लुप ईएमआईमार्फत मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्। यस सुविधाले ग्राहकलाई खरिद तथा भुक्तानी व्यवस्थापन सहज बनाउनुका साथै डिजिटल माध्यमबाट उपभोक्ता कर्जामा पहुँच विस्तार गर्ने बैंकको विश्वास छ।
सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल सेवा सञ्चालनमा ल्याएको थियो। बैंकले युवालक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरका लागि विशेष बचत खातालगायत डिजिटल बैंकिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ।
बैंकका अनुसार देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिँदै आएको छ।



























