काठमाडौं – विश्व पोलियो दिवसको अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा ‘पोलियो साइकल यात्रा’ आयोजना हुने भएको छ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले यही कात्तिक ७ गते साइकल यात्राको आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार साइकल यात्रा भक्तपुर दरबार स्क्वायरबाट सुरु भई पाटन दरबार स्क्वायरसम्म पुग्नेछ। यात्राका क्रममा चाँगुनारायण, बौद्धनाथ, पशुपतिनाथ र स्वयम्भूनाथ हुँदै काठमाडौं दरबार स्क्वायर तथा पाटन दरबार स्क्वायरमा पुगेर यात्रा सम्पन्न हुनेछ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, काठमाडौं महानगरपालिकाकी मेयर सुनिता डंगोल र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
रोटरी इन्टरनेसनलका प्रतिनिधि, रोटरी क्लबका सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पनि यात्रामा सहभागी हुनेछन्। रोटरी क्लब अफ काठमाडौंले आयोजना गरेको यस कार्यक्रमलाई रोटरी क्लब अफ भक्तपुर र रोटरी क्लब अफ ललितपुरको सहयोग रहनेछ।
‘इन्ड पोलियो’ अर्थात् पोलियोविरुद्धको अभियानको महत्व, जनस्वास्थ्यसम्बन्धी चेतना तथा पोलियो उन्मूलनका लागि निरन्तर सामूहिक प्रतिबद्धताको सन्देश आम नागरिकसम्म पुर्याउनु साइकल यात्राको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।



























