काठमाडौँ – विश्वभर प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी देखिएपछि नेपालमा पनि बैंक तथा वित्तीय संस्थाका अनलाइन सेवा प्रभावित भएका छन्। सम्भावित साइबर आक्रमण र ग्राहकको डेटा सुरक्षित राख्न नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंकले आफ्ना वेबसाइट तथा वेबमा आधारित सेवाहरू अस्थायी रूपमा बन्द गरेका छन्।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी र यससँग सम्बन्धित प्रणालीमा गम्भीर सुरक्षा जोखिम पहिचान भएपछि आपत्कालीन एड्भाइजरी जारी गर्दै सफ्टवेयर अद्यावधिक गर्न निर्देशन दिएको थियो। तत्काल प्रणाली सुरक्षित बनाउन नसक्ने अवस्थामा इन्टरनेट पहुँचबाट अलग गरी सेवा रोक्नसमेत सुझाव दिइएको थियो।


ADVERTISEMENT

# #


यसैबीच, ग्लोबल आइएमई, नबिल, प्राइम कमर्सियल, एनआईसी एसिया, सिद्धार्थ, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायतका बैंकले विभिन्न वेबसाइट तथा अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेका छन्।

बैंकहरूले मुख्य बैंकिङ तथा मोबाइल बैंकिङ सेवा भने सञ्चालनमा रहेको जनाएका छन्। तर, पीएचपीमा देखिएको कमजोरीका कारण उत्पन्न जोखिम पूर्ण रूपमा न्यूनीकरण नभएसम्म वेबमा आधारित केही सेवाहरू बन्द रहनेछन्।


ADVERTISEMENT

#
#


पीएचपी विश्वभर वेबसाइट तथा वेब एप्लिकेसन निर्माणमा प्रयोग हुने लोकप्रिय प्रोग्रामिङ भाषा हो। यसको सुरक्षा कमजोरीको दुरुपयोग भएमा सर्भरमा अनधिकृत पहुँच र कमान्ड सञ्चालनको जोखिम हुन सक्छ। त्यसैले जोखिमयुक्त प्रणाली अद्यावधिक गरी सुरक्षित बनाएपछि मात्रै सेवा पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।