बागलुङ – सरकारले गरेको इन्धनको मूल्य वृद्धिका विरुद्ध एमाले सम्बद्ध भातृ संगठनहरु आन्दोलनमा उत्रिएका छन् । मूल्यवृद्धिले जनताको दैनिक जिवनयापनलाई समस्या पारेको भन्दै एमाले सम्बद्ध भातृ संगठनहरुले सोमबार बागलुङमा विरोध प्रदर्शन गरेका हुन ।


ADVERTISEMENT


सडकमा चुलो बाल्नुका साथै खाली सिलिण्डर र सवारी साधान प्रर्दशन सहित युवा विद्यार्थी र महिलाहरुले मूल्य वद्धिको विरोध गरेका हुन् । एमालेका भातृ संगठनहरु अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) बागलुङ, अखिल नेपाल महिला संघ बागलुङ र राष्ट्रिय युवा संघ बागलुङले संयुक्त रुपमा मूल्य वृद्धिको विरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज शेखर खड्का (झलक) ले गठबन्धन सरकारले देश आर्थिक संकटमा परेको बाहना बनाएर आम जनताको दैनिक प्रयोग हुने वस्तुमा मूल्य वृद्धि गरेको बताए । जनविरोधी मूल्य वृद्धि फिर्ता गराउनका लागि युवा विद्यार्थी महिला लगायत आम समुदाय एकजुट भएर आन्दोलन गर्नु पर्नेमा खड्काको जोड थियो । मूल्य वृद्धि फिर्ता नहुदासम्म युवा विद्यार्थीको आन्दोलन जारी रहने उनको भनाइ थियो ।

अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष लक्ष्मी बोहरा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रेशम घर्ति मगर, एमाले जिल्ला सदस्य तथा बानपा–९ का सह–इन्चार्ज भावना खड्का, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तारा शर्मा लगायतले सरकारले जनताको भावना विपरित गरेको मूल्य वृद्धि फिर्ता लिन माग गरेका थिए ।

मूल्यवृद्धिका विरुद्ध अनेरास्ववियूले जेठ १० गते मंगलवार देशव्यापी रुपमा विरोध प्रर्दशन गर्न लागेको अनेरास्ववियु बागलुङका संयोजक रोशन कुँवरले जानकारी दिए ।

युवा, विद्यार्थी र महिलाहरुको जुलुशले बजार परिक्रमा पछि जिपपार्कमा विरोध कार्यक्रम सम्पन्न भएको अनेरास्ववियू धौलागिरी बहुमुखी क्याम्पस कमिटिका खेलकूद विभाग प्रमुख प्रवेश शर्मा पौडेलले बताए ।

कार्यक्रमको सञ्चालन अनेरास्ववियू बागलुङका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख रोशन जिसीले गरेका थिए ।