काठमाण्डौं-आम चुनावको महासंग्राम सकिनै लाग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्ना लक्षबारे मुख खोलेका छन् । कांग्रेस सभापति देउवाले आफ्नो पार्टी बहुमतको नजिक पुग्ने दाबी गरेका छन् भने एमाले अध्यक्ष ओलीले वाम गठबन्धन दुई तिहाइको नजिक पुग्ने दाबी गरेका छन् ।
दुबै दलका शीर्ष नेताहरुले आगामी सरकार आफ्नै दलको नेतृत्वमा बन्ने दाबी समेत गरेका छन् ।
देउवाको दाबीः सकभर बहुमत, नभए ठूलो दल
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ‘सकभर बहुमत ल्याउने’ बताएका छन् । बहुमत आएन भने पनि सबैभन्दा ठूलो पार्टी बन्नेमा आफू ढुक्क भएको देउवाले लक्ष सार्वजनिक गरेका छन् ।
ठूलो पार्टी बन्ने पक्कापक्की भएको दाबी गरेका देउवाले निर्वाचनपछि नेपाली कांग्रेस विपक्षी दलका बस्नु नपर्ने दाबी गरेका छन् ।
ओलीको दाबीः दुई तिहाइ नजिक
एमाले अध्यक्ष केपी ओलीले चाहिँ वाम गठबन्धन दुई तिहाईको नजिक पुग्ने दाबी गरेका छन् ।
कान्तिपुर दैनिकलाई दिएको अन्तरवार्तामा ओलीले भनेका छन्-‘दुई तिहाईको आसपास । तर, बहुमतमा चाहिँ कुनै शंका छैन । आउँछ कि आउँदैन भन्ने प्रश्नै छैन ।’
चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्ने ओलीले दाबी गरेका छन् ।