काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) साह आफ्नो कार्यभार सम्हालेपछि निरन्तर सेवामा खटिरहेका छन् । कहिले सिसडोलवासीसंग त, कहिले बैठकहरुमा देखिने मेयर साह हिजो शनिवारका दिन भने सुटुक्क काठमाडौँका विभिन्न स्थानमा स्थलगत अनुगमनमा खटिए ।
अनुगमनका क्रममा उनले धरहरास्थित सुन्धारा पनि भ्रमण गरेका थिए । त्यहाँको स्थिति बुझेपछि उनले अबको ६ महिनामा सुन्धारामा सुनको धाराबाट टुँडिखेलको प्राकृतिक पानी ल्याउने योजना रहेको बताए । यद्यपि यसरी कुनै तामझामबिना सुटुक्क अनुगमनमा पुगेका साहको यस क्रियाकलापबाट केहि वडाध्यक्षहरुलाई भने रुष्ट बनाएको छ ।
उनीहरुले आफुहरुलाई जानकारी नै नदिई मेयर आफ्ना वडामा आएकोमा आपत्ति जनाएका छन् । आफुहरु पनि मेयर प्रतिनिधि भएको भन्दै उनीहरुले मेयर यसरी सुटुक्क आएर गएको भन्ने खबर थाहा पाउँदा आफुहरुलाई दुःख लागेको बताए ।
कुन वडाका अध्यक्षले के भने ?
काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन मेयर साह सुन्धारा क्षेत्रको अवलोकनमा आएको बेला आफूलाई थाहै नदिइएको गुनासो गरे । ‘मेयरसाप हिजो सुन्धारा पुग्नु भएको रहेछ । मलाई थुप्रै साथीहरुले हिजो तिमी कहाँ थियौ भनेर सोध्नुभयो, यहाँको उपस्थितिमा मेरो अनुपस्थितिबारे धेरै साथीहरुको प्रश्नको मैले जवाफ दिन सकिनँ,’ उनले भने, ‘मैले थाहा पाएको भए मेयरसापलाई फूलमाला लिएर स्वागत गर्न तयार थिएँ । हाम्रो संकटा बजारमा थुप्रै फूलमाला अहिले पनि बेचिरहेको होला ।’
धरहरा बन्ने तर सुन्धारा डम्पिङ साइट हुनेजस्तो स्थिति नआवस् भनेर आफू सक्रिय रहेको भन्दै उनले मेयर सोही क्षेत्रमा आउँदा आफूले थाहा नपाएको भन्दै उनले दुखेसो पोखे ।
वडा अध्यक्ष पनि मेयरकै प्रतिनिधि भएको भन्दै उनले अबदेखि स्थानीय वडा अध्यक्षहरुसँग समन्वय गरेर अनुगमनमा आउन सुझाव दिए । उनले भने, ‘पशुपति दर्शन गर्न जाँदा, संकटा दर्शन गर्न जाँदा सल्लाह गर्नुपर्छ भन्ने होइन तर महत्वपूर्ण विषयमा जाँदा समन्वय गर्नुपर्छ ।’
काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमल कुमार होडाले पनि मेयर साह आफ्नो वडामा अनुगमन गर्न आउँदा थाहै नपाएको बताए । उनले अबदेखि आफूलाई जानकारी दिन आग्रह गरे ।
मेयर साहले शनिबारको दिन भएकाले दुःख नदिने भनेर खबर नगरेको प्रष्टीकरण दिए । उनले अबदेखि यस्ता ठाउँमा जाँदा खबर गर्ने प्रतिबद्धता जनाए ।
बैठकमा वडा अध्यक्षहरुले प्लास्टिक उद्योगहरुसँग समन्वय गरेर घर(घरमा फोहोर राख्ने भाँडो उपलब्ध गराउन, ढल सफाइका लागि हरेक वडावालाई एक(एक वटा जेट मेसिन उपलब्ध गराउन, राजश्व लिएर फुटपाथको उचित व्यवस्थापन गर्न, कबाडी संकलन तथा बिक्री गर्ने स्थान हटाउन लगायतका विषयमा सुझाव दिएका छन् ।