काठमाडौं – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी र आर्थिक साझेदारीका माध्यमबाट थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

अमेरिकी तल्लो सदनको वेज एन्ड मिन्स कमिटीका सभापति जेसन स्मिथ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख अर्यालले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि प्रतिबद्ध रहेको बताएका हुन्।


ADVERTISEMENT

# #


भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन र संसदीय सहकार्यका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट भएको क्षति उल्लेख गर्दै विपद्को कठिन समयमा अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिएका थिए। उनले जलवायु परिवर्तनका कारण जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखे।


ADVERTISEMENT

#
#


उनले जलवायुजन्य विपद् सामना गर्न अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने बताए। साथै, हिमालय क्षेत्रसहित जोखिममा रहेका भूभागको संरक्षण र उत्थानशीलता सुदृढ गर्न संसदीय तहबाट समेत प्रभावकारी पहल हुनुपर्नेमा जोड दिए।

सभामुख अर्यालले तान्जानियाको आरुषामा सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारीसमेत गराएका थिए।

यसैगरी, नेपाल–अमेरिका संसदीयमैत्री समूह र अमेरिकी संसद्का विभिन्न संसदीय ककसबीच निरन्तर संवाद तथा सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो।

अमेरिकी प्रतिनिधिमण्डलले भोटेकोशी बाढीबाट नेपालले भोग्नुपरेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। प्रतिनिधिमण्डलले नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिलाई थप सुदृढ बनाउन इच्छुक रहेको जनाएको छ।

भेटमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी थिए।