काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ ले राष्ट्रिय एकता, आपसी सद्भाव र नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
सोमबारदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको प्रतियोगिताको सफलताको शुभकामना दिँदै अध्यक्ष यादवले क्रिकेटले भाषा, जाति, धर्म, क्षेत्र र समुदायभन्दा माथि उठेर नेपालीलाई एउटै सूत्रमा जोड्ने बताएका हुन्।
उनले पछिल्लो समय क्रिकेटले हिमाल, पहाड र तराई–मधेसका नेपालीको भावनालाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। एनपीएलजस्ता राष्ट्रिय स्तरका प्रतियोगिताले खेल भावनाको विकास गर्दै देशभर एकता र भाइचाराको सन्देश प्रवाह गर्ने उनको विश्वास छ।
यादवले प्रतियोगिताले नेपाली क्रिकेटको संस्थागत विकासमा समेत योगदान पुर्याउने बताएका छन्। प्रतियोगिताले स्वदेशी युवा तथा प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको भविष्य निर्माण र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउन सहयोग गर्ने उनले उल्लेख गरेका छन्।
निष्पक्ष प्रतिस्पर्धा, अनुशासन र उत्कृष्ट खेल भावनाको अपेक्षा गर्दै अध्यक्ष यादवले प्रतियोगिताको सफलताको कामना गरेका छन्। साथै, उनले आयोजक, स्वदेशी तथा विदेशी खेलाडी, प्राविधिक टोली र सम्पूर्ण क्रिकेटप्रेमी नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।



























