काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दलाल पुँजीवादलाई पोसेर देशमा समाजवाद आउन सम्भव नभएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा आयोजित कार्यक्रमममा उनले यस्तो बताएका हुन् ।
प्रतिष्ठानले चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुष्पलालको शालिकमा माल्यार्पण कार्यक्रम गरेको थियो । कार्यक्रममा अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।
माल्यार्पण कार्यक्रमपछि आयोजित कार्यक्रममा अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट एकतामा पुष्पलालले खेलको भूमिकाको स्मरण गरे । उनले राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखा परेको भन्दै यसप्रति सवै सजक भएर आफूले कर्तव्य पूरा गरेको छ कि छैन भन्ने समीक्षा गर्नुपर्ने धारणा राखे । दलाल पुँजीवालाई पोसेर देशमा समाजवाद आउन सम्भव नरहेको उनको भनाई छ ।
पुष्पलाल श्रेष्ठले विश्व कम्युनिस्ट घोषणापत्रलाई वि.सं. २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली मार्क्सवादी विश्लेषकको पहिचान दिएका थिए । पुष्पलालको ५४ वर्षको उमेरमा २०३५ साल साउन ७ गते निधन भएको थियो ।