काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै समूहसँग आफूहरुको कुरा चलिरहेको बताएका छन्। त्यसमा माधव नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराई तथा वामदेव गौतम रहेको उनले बताए।
‘गठबन्धनभित्रका वामपन्थीहरुका बीचमा एउटा राम्रो समझदारी बनाउनुपर्छ र सकियो भने चुनावी विशेष मोर्चा पनि हुनसक्छ, भोलि पार्टी एकताको लागि संयोजन समिति पनि हुनसक्छ भनेर छलफल चलिरहेको छ’, शनिबार जनकपुर विमानस्थलमा उनले भने, ‘अन्तिम निर्णय भइसकेको छैन। सम्भवतः केही दिनभित्र हामी एउटा निर्णयमा पुग्छौं।’
उनले वामपन्थी एकता भयो भने त्यो समाजवादी केन्द्र जस्तै हुने उनको भनाइ छ। वामपन्थी एकता भन्नु र समाजवादी केन्द्र भन्नु उस्तैउस्तै भएको उनको भनाइ छ। त्यस्तो एकतामा उपेन्द्र यादव पनि जोडिने उनले बताए।
‘चुनावी मोर्चामा उपेन्द्रजी पनि हुँदैहुनुहुन्छ। आउनु पनि हुन्छ जस्तो लाग्छ हामीलाई। समाजवादी केन्द्र बनाउँदा आउन अप्ठ्यारो हुने केही पनि मानेका छैनौं’, उनले भने।
प्रचण्डले जनता समाजवादी पार्टी अनौपचारिक रुपमा फुटिसकेको र औपचारिकता दिन मात्रै बाँकी रहेको बताए। जसपाका दुवै पक्ष (उपेन्द्र यादव र डा बाबुराम भट्टराई) सँग आफूहरुको छलफल चलिरहेको उनले बताए।
‘उपेन्द्र यादवले नेतृत्व गरेको जसपासँग त हामी सरकार र गठबन्धनमा छँदैछौं। बाबुरामले अर्को बनाउने पार्टी पनि हामी गठबन्धनभन्दा बाहिर हुँदैनौं भनेर भनिराख्नुभएको छ। उहाँहरु गठबन्धनभन्दा बाहिर जाने स्थिति छैन’, उनले भने।