काठमाडौँ– इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं हिरासतको महिलालाई मध्यरातमा आफ्नो कोठामा ल्याएको आरोपमा पक्राउ परेका छन् ।
असई चौलागाईंले कोहलपुरमा प्रहरी हिरासतमा रहेकी एक महिलालाई शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलामा रहेको लगेपछि उनलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको हो ।
पक्राउ असईले हिरासतकी महिलामाथि आफ्नो कोठामा लगेर सामान्य सोधपुछ गर्नुको साथै हातपात गरेको भनेकाले महिलामाथि यौन दुर्व्यवहार तथा बलात्कार समेत भएको हुनसक्ने आंशका गरिएको छ ।
हाल नियन्त्रणमा रहेका चौलागाईं जिप्रका बाँकेको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
आरोपी चौलागाईंले ती महिलालाई आफ्नो कोठामा लगेको झन्डै दश मिनेटपछि मात्रै छोडेको भन्ने बुझ्नमा आएको छ । पीडित र उनका श्रीमान्ले शुक्रवार बिहान मध्यरातमा चौलागाईँले आफ्नो कोठमा लगेर बलात्कार गरेको आरोपमा उनीविरुद्व जाहेरी दिएपनि अहिले बयान फेरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए । यता आरोपीले पनि सोधपुछको लागि मात्रै यसवतीलाई लगेको अभिव्यक्ति दिएको उनको भनाई छ ।
‘सोधपुछकै लागि लगेपनि त्यति राति किन लगियो भन्ने विषयमाथि गम्भीर अनुसन्धान गर्नेछौ’, उनले भने ।