काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो। विराटनगरलाई अन्तिम १८ बलमा २१ रन आवश्यक हुँदा खेल प्रतिस्पर्धात्मक अवस्थामा थियो। तर, चितवनका बलर कमलसिंह ऐरीले १८औँ ओभरमा लगातार दुई विकेट लिएपछि खेलको दिशा बदलियो। उनले रुपेश सिंह र प्रतिश जिसीलाई खाता खोल्न नदिई पभेलियन फर्काए।


ADVERTISEMENT

# #


त्यसपछि १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जितको सम्भावना कमजोर बन्यो। चितवनका लागि कमलसिंह ऐरीले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एक–एक विकेट लिए।

रसेलको आक्रामक ब्याटिङ पनि विराटनगरलाई जिताउन असफल
विराटनगरका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए। तर, उनको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त भएन। ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए भने लोकेश बमले १४ बलमा २६ रनको योगदान दिए। यी दुईले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। त्यस्तै, एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३, शुभम रञ्जानेले १० र चरिथ असलंकाले आठ रन बनाए। सन्दीप लामिछाने, रुपेश सिंह र प्रतिश जिसीले भने रनको खाता खोल्न सकेनन्।


ADVERTISEMENT

#
#


मलानको अर्धशतकमा चितवनले बनायो १५७ रन
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।

चितवनका ओपनर डाविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलको सामना गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए। मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरे। देव १५ बलमा १२ रन बनाएर आउट भए।

त्यस्तै, विकेटकिपर ब्याटर अर्जुन साउद नौ बलमा तीन रन बनाएर पभेलियन फर्किए। उनलाई एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याच गराएका थिए।

मलान १३औँ ओभरमा आन्द्रे रसेलको बलमा आउट भएपछि रवि बोपारा र डान मोस्लीले चितवनको इनिङ्स सम्हाले। यी दुईले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे। रवि ३२ र डान २९ रनमा अविजित रहे।

यस जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण अंक जोडेको छ। एनपीएलअन्तर्गत मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।