काठमाडौं – एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।

अर्थमन्त्री वाग्ले कतार एयरवेजको जहाजमार्फत काठमाडौं फर्कनु भएको हो । भ्रमण नेपालको महत्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकहरु बीच थप सहकार्यका लागि फलदायी भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा भाग लिन उहाँ असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरिइएको थियो ।

बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद्का गभर्नर डा. स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ का लागि उप–सभापतिमा निर्वाचित गरेको छ । बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई उप–सभापतिमा निर्वाचित गरेको हो । नेपाल पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंकको उप–सभापतिमा निर्वाचित भएसँगै मुलुकको महत्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सहकार्यका लागि थप मार्गप्रशस्त हुने आशा गरिएको मन्त्रालयले जनाएको छ ।