काठमाडौं – प्रा डा युवराज संग्रौलाद्वारा लिखित ‘एकादेशका बाँदर’ र डा गोविन्दप्रसाद कुसुमद्वारा लिखित ‘पर्खाल’ उपन्यास कृतिको संयुक्त रुपमा विमोचन भएको छ । बानेश्वरमा आयोजित एक कार्यक्रममा सोमबार दुवै कृतिको विमोचन भएको हो ।
विमोचित दुवै कृतिमाथि भाषा आयोगका सदस्य डा अमर गिरी, प्रा डा रमेश भट्टराई साहित्यकार बिन्दु अधिकारी ढकालले टिप्पणी गरेका छन् । बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै साहित्यकार ढकालले विमोचित दुवै कृतिहरु उत्कृष्ट रचना भएको बताइन् ।
प्रा डा संग्रौलाको कृति ‘एकादेशका बाँदर’ माथि टिप्पणी गर्दै ढकालले उक्त कृतिमा बिम्बहरुको प्रयोग गर्दै नेपाली राजनीतिका विभिन्न चरित्रहरुलाई प्रश्तुत गरेको बताइन् । नेपाली राजनीतिलाई व्यङ्ग्यात्मक रुपले प्रश्तुत गर्नमा समग्रमा पुस्तक सफल रहेको ढकालको ठम्याई छ ।
कानुनविद र वरिष्ठ अधिबक्ता समेत रहेका संग्रौलाका यसअघि प्रकाशित साउथ एशिया चीन भूराजनीति, गोर्खा बिग्रेड उपनिवेशदेखि उपनिवेशको यात्रा जस्ता कृति प्रकाशित भएको बताउँदै ढकालले लेखनमार्फत संग्रौलाले देशपरिवर्तन चाहेको बताइन् ।
यसैगरी डा कुसुमद्वारा लिखित ‘पर्खाल’ औपन्यासिक कृति दाङ जिल्लाको सेरोफेरोमा रचिएको र त्यहाँकै समस्याहरुलाई औंल्याइएको ढकाललको टिप्पणी रह्यो । यसअघि नै प्रकाशनमा आएको डा कुसुमको प्रशासन भित्रको प्रशासन पनि उत्कृष्ट र पाठकहरुले रुचाएको कृति भएको ढकालले बताइन् ।
दुवै कृतिहरु लेक्स एण्ड जुरीस पब्लिकेशन प्रालिले बजारमा ल्याएको हो ।