सुनसरी – नेकपा एमालेकी नेतृ भगवती चौधरीले कृषिलाई निर्वाहमुखी नभएर व्यावसायिकतामा ढाल्न सक्नुपर्ने बताएकी छन् । सुनसरीमा आयोजित अखिल नेपाल किसान महासंघ एक नम्बर प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्दै नेतृ चौधरीले यस्तो बताएकी हुन् ।
नेतृ चौधरीले आयातमुखी कृषि अर्थतन्त्रलाई विस्थापित गर्न कृषिलाई व्यावसायिकतामा रुपान्तरण गर्नु राज्यको दायित्व भएको स्मरण समेत गराएकी छन् । साथै उनले किसानले आफ्नो उत्पादनको मूल्य आफैँले तोक्न पाउनुपर्ने बताएकी छिन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेको उम्मेदवार सिफारिस भएकी नेतृ चौधरीले कार्यक्रममा बोल्दै भनिन् ‘किसानले दुःख गरेर उत्पादन गर्छ, मूल्य भने अर्कैले राखिदिन्छ । यस्तो असमानताले राज्यलाई पनि फाइदा हुँदैन ।’
नेतृ चौधरीले थपिन्, ‘वषौंदेखि किसानले भोग्दै आएको यस्तो असमान नीतिको विरुद्धमा जाग्नुपर्छ । राज्यलाई खबरदारी गरी जसले उत्पादन गरेको हो उसैले मूल्य तोक्ने व्यवस्था गर्नुपर्छ ।’
यसैगरी नेतृ चौधरीले युवालक्षित कृषि प्रणालीको सुधार गर्नुपर्नेसमेत औँल्याएकी छन् । उनले प्रविधिमैत्री खेतीको विकास गर्न राज्यले व्यवहारमा लागु गर्न सकिने योजना ल्याउनुपर्ने बताइन् । उनले भनिन् , ‘उत्पादनलाई जीवन निर्वाहमुखी मात्र होइन, व्यावसायिकतामा ढाल्न सके आयातमुखी कृषि अर्थतन्त्रलाई विस्थापित गर्न सकिन्छ ।’
नेतृ चौधरीले खेतीका सन्दर्भमा आफ्नो धारणा राख्दै भनिन्, ‘हामीले सबैखाले खेती गर्दा सोचेजस्तो लाभ लिन सकिरहेका छैनौं । भूगोल अनुसार सुहाउँदो हावापानीमा हुनसक्ने बाली लगाउनेबारे राज्यले चक्लाबन्दी खेती अभ्यासलाई प्राथमिकता दिनुपर्छ । किसानलाई मल, बीउ र सिँचाइको उपयुक्त प्रबन्ध गर्नु राज्यको मूल्य दायित्व हो भन्ने बुझ्नुपर्छ ।’