काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ मा नेपालले हिमाल संरक्षण, जलवायु न्याय र प्रभावित समुदायका लागि ठोस उपलब्धि हासिल गर्ने लक्ष्यसहित प्रस्तुत हुनुपर्ने बताएका छन्।
बिहीबार आयोजित नेशनल क्लाइमेट समिटमा बोल्दै पराजुलीले जलवायु संकटबाट भएका क्षतिको विवरण प्रस्तुत गरेर मात्र नपुग्ने बताएका हुन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका मागलाई प्रभावकारी रूपमा उठाउँदै पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग जुटाउनुपर्नेमा जोड दिए।
उनका अनुसार तीव्र गतिमा पग्लिरहेका हिमनदी नेपालको अस्तित्वसँग जोडिएको गम्भीर चुनौती हो। हिमालको संरक्षण नेपालमा मात्र सीमित विषय नभई पानी, कृषि, ऊर्जा, जैविक विविधता र विश्वभरका करोडौँ मानिसको जीवनसँग सम्बन्धित साझा अन्तर्राष्ट्रिय जिम्मेवारी भएको उनले बताए।
पराजुलीले भोटेकोशी र त्रिशूलीलगायतका क्षेत्रमा देखिएका विपद्बाट प्राप्त तथ्य, वैज्ञानिक अध्ययन र स्थानीय समुदायका अनुभवलाई आधार बनाएर अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट प्रस्ताव लैजानुपर्ने धारणा राखे। विपद् न्यूनीकरणका लागि प्रभावकारी पूर्वसूचना प्रणाली, सुरक्षित पूर्वाधार र स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै, जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसारको सहयोग वास्तविक रूपमा प्रभावित समुदायसम्म पुगे–नपुगेको विषयलाई पनि प्राथमिकताका साथ उठाउनुपर्ने उनले बताए। जलवायु अनुकूलन, हानि तथा नोक्सानीको सम्बोधन र जलवायु उत्थानशील पूर्वाधार निर्माणका लागि अनुदानमा आधारित सहयोग जुटाउन नेपालले पहल गर्नुपर्ने उनको जोड थियो।
उनले जलवायु सहायता प्राप्त गर्ने जटिल प्रक्रियालाई सरल बनाउन, आधुनिक प्रविधि हस्तान्तरण गर्न र स्थानीय तहसम्म कार्यान्वयन क्षमता विकास गर्न आवश्यक रहेको बताए। त्यसका लागि लागत, कार्ययोजना र अपेक्षित उपलब्धि स्पष्ट भएका रणनीतिक आयोजना अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने उनको सुझाव छ।
जलवायु कूटनीतिलाई आर्थिक अवसरसँग पनि जोड्नुपर्ने उल्लेख गर्दै पराजुलीले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, भन्सार तथा गैरभन्सार अवरोध हटाउने र गुणस्तर प्रमाणीकरणका लागि प्राविधिक सहयोग जुटाउन कोप सम्मेलन तथा द्विपक्षीय बैठकको उपयोग गर्नुपर्ने बताए।
नेपालले जलवायु संकटको गम्भीरता प्रस्तुत गर्दा विपद्बाट प्रभावित क्षेत्रको वास्तविकता उजागर गर्नुका साथै सुरक्षित पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य र नेपाली समुदायको पुनरुत्थान क्षमतालाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
पराजुलीले नेपालको अन्तर्राष्ट्रिय सहभागिता प्रतिबद्धता व्यक्त गर्ने औपचारिकतामा मात्र सीमित हुन नहुने बताउँदै प्रभावित नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने परिणाममुखी रणनीति आवश्यक रहेकोमा जोड दिए।



























