एजेन्सी  – स्पेनको मध्य क्षेत्रमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।

बुधबार बिहान भएको दुर्घटनामा रेलका केही डिब्बा लिकबाट खसेर भिरालो क्षेत्रमा पुगेका थिए। प्राप्त विवरणअनुसार म्याड्रिडबाट सेभिलतर्फ गइरहेको निजी रेल सञ्चालक कम्पनी इरियोको रेल प्राविधिक समस्याका कारण लिकमा रोकिएको थियो। त्यसैक्रममा सरकारी रेल कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाइएको छ।


ADVERTISEMENT

# #


दुर्घटना म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने मोरा र ओर्गाज नगरपालिकाबीच बिहान ९ बजेपछि भएको थियो। इरियोको रेलमा १४७ जना र रेन्फेको रेलमा ३९७ जना यात्रु सवार रहेको विवरणमा उल्लेख छ।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार प्रारम्भिक विवरणमा कम्प्युटर प्रणालीमा आएको समस्या र त्यसपछि भएको मानवीय त्रुटिलाई दुर्घटनाको सम्भावित कारणका रूपमा हेरिएको छ। प्रणालीमा खराबी आएपछि रेल सञ्चालन नियन्त्रण केन्द्रले जिम्मेवारी लिए पनि गति सीमा स्पष्ट नगरी रेल पुनः सञ्चालन गर्न निर्देशन दिइएको विषयमा प्रश्न उठेको उनले बताएका छन्।


ADVERTISEMENT

#
#


दुर्घटनापछि घटनास्थलमा उद्धारकार्य सञ्चालन गरिएको थियो। ठक्करका कारण यात्रुहरू सिटबाट उछिट्टिएका थिए भने केही यात्रु रेलका भग्नावशेषमा च्यापिएका थिए। बाहिर निस्कन कठिन भएपछि केही यात्रुले झ्याल फुटाएर बाहिरिने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

रेन्फेको रेलमा सवार ६२ वर्षीय साल्भाडोर अरिजाका अनुसार ठक्करको प्रभाव निकै ठूलो थियो। केही यात्रु सिटबीच च्यापिएर चल्नसमेत नसक्ने अवस्थामा पुगेका थिए। दुर्घटनापछि रेलको एउटा डिब्बामा आगलागीसमेत भएको थियो।