काठमाडौँ – प्रा.डा. गोविन्द केसीले आगामी निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै केसीले यसअघिका निर्वाचनबाट राज्यसञ्चालनमा आएका शीर्षदलहरु असफल भइसकेको भन्दै अहिलेको निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् । उनले अघिल्लो चूनावको जस्तो गल्ती फेरी नदोहराउन अपिल गरेका छन् भने आउँदा चूनावहरुमा वैदशिक रोजगारीमा रहने युवाहरुको मताधिकार सुनिश्चित गर्न पनि माग गरे ।
त्यस्तै उनले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको आरोप लगाए । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकालाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले बताए । केसीले पुरानै नेताहरुका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको समेत आरोप लगाए ।
उनले नेताहरुको गलत सोचाईका कारण मुलुक भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेकाले नै आर्थिक प्रगति हुन नसकेको धारणा राखे ।