काठमाडौँ — आगामी ४ मंसिरदेखि कतारमा शुरु हुन लागेको विश्व कप फुटबलको लाइभ प्रसारण हेर्नका लागि नेपाली दर्शकले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले विश्वकपका लागि मिडिया हब प्रालिको अतिरिक्त शुल्क लिन पाउने प्रस्ताव स्वीकृत गरेसंगै दर्शकले विश्वकप लाइभ प्रसारणका लागि ५ सय रुपैयाँ तिर्नुपर्ने भएको हो ।
यसअघि विश्वकप लाइभ प्रसारणसम्बन्धी विवादमा गत २२ कार्तिकमा दर्शकसँग अतिरिक्त शुल्क नलिन भन्दै सर्वाेच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
यद्यपि आजको बैठकले विश्वकप फुटबल उपभोक्ताले हेर्न पाउने कुरा नियमित नभई नितान्त स्वैच्छिक भएको भन्दै अतिरिक्त शुल्कको लागि मिडिया हबलाई अनुमति दिएको हो । विश्व कपलाई लक्षित गरेर मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार हिमालय प्रिमियम एचडीलाई दिएको छ ।