काठमाडौँ – काठमाडौँमा जारी युएईसँगको द्विपक्षीय एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । सुरुवातमै खराब ब्याटिङ गरेर हारको नजिक पुगेको नेपालका लागि आरिफ शेख र गुलशन झाले समझदारीपूर्ण ब्याटिङ गरेपछि बुधबार युएईलाई ३ विकेटले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको युएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनायो । १९२ रनको चुनौती पच्छ्याउँदै मैदानमा उत्रिएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै जित हात पारेको हो । पहिलो खेल हारेको नेपालले आजको जितसँगै ३ खेलको सिरिज १–१को बराबरी गरेको छ ।


ADVERTISEMENT

# # #


नेपालको जितका लागि गुलशन झाले सर्वाधिक ३७ रन हाने । आठौँ नम्बरमा आएका उनले ४९ बलमा ४ चौका र १ छक्का ठोके । यस्तै आरिफ शेखले ५८ बलमा ३ चौकासहित नटआउट ३३ रन बनाए । यस्तै कुशल भुर्तेलले ५२ बलमा ६ चौकासहित ३५ तथा ज्ञानेन्द्र मल्लले ५९ बलमा ४ चौकासहित २६ रनको योगदान दिए । यस्तै सोमपाल कामी १६ बलमा २ चौकासहित १६ रन बनाएर नटआउट रहे भने दीपेन्द्र सिंह ऐरी १३ रनमा आउट हुँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

युएईका लागि रोहन मुस्ताफाले ३ तथा हजरत बिलालले २ र बासिल हमीदले १ विकेट हात पारे ।

यसअघि आक्रामक ब्याटिङ गरेको युुएईले ११.५ ओभरमा पहिलो विकेट गुमाउँदा महत्वपूर्ण ७२ रन बनाएको थियो । त्यसक्रममा युएईका लागि मुहम्मद वासिलले अर्धशतक हाने । उनले ४६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनको योगदान दिए । यस्तै अलिशान सराफुले ३५, वृत्य अरविन्दले २५, वासिल हमीदले २४ तथा कप्तान सीपी रिजवानले २२ रन बनाए ।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान ३–३ विकेट लिए । यस्तै करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे ।

नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । उक्त खेल जित्ने टोलीले सिरिज कब्जा गर्नेछ ।