काठमाडौँ– प्रतिनिधिभा र प्रदेशसभा सदस्यका लागि आज भइरहेको मतदान उत्साह, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भइरहेको छ ।
आमनिर्वाचन पर्यवेक्षण समितिका तर्फबाट निर्वाचन पर्यवेक्षणमा रहेका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले व्यवस्थित र शान्तिपूर्ण ढङ्गबाट मतदान भइरहेको पाइएको बताए ।
सप्तरी जिल्लामा निर्वाचनको पर्यवेक्षणमा रहनुभएका अर्का पूर्वप्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले उत्साहित र व्यवस्थितरुपमा पङक्तिबद्ध भएर मतदाता मतदानको अधिकार प्रयोग गरिरहेको प्रतिक्रिया दिए ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बिहान सबेरैदेखि मतदाता लाइनमा बसेर मतदानमा भाग लिइरहेको जनाए । उनले भने, ‘शान्त वातावरणमा मतदान सञ्चालन भइरहेको छ, मतदाता उत्साहित छन्, कतिपय मतदानस्थलमा मतदाता बिहान सबेरैदेखि मतदानका लागि लाइनमा बसेको देखिन्थ्यो ।’
चिसो मौसमका कारण कतिपय मतदानस्थलमा बिहान ८ बजेदेखि मात्रै मतदाताको उपस्थिति बाग्लो भएको देखियो ।
पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान
यसैबीच, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडाँै पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट बिहान ९ः४५ बजे मतदान गरेका छन् । । मतदानपछि रासससँग कुराकानी गर्दै उहाँले देशको भाग्य र भविष्य निर्माण गर्ने मतदानमा भाग लिन सम्पूर्ण मतदातालाई आग्रह गरे ।
पूर्व प्रधानन्यायाधीश रेग्मीले भने, ‘शान्तिपूर्ण, सहज र सरलरुपमा मतदाताले मतदान गरिरहनु भएकोछ, दिउँसो मतदाताको उपस्थिति अझै बाक्लो हुने अनुमान गरेको छु । रासस