काठमाडौँ – सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएको बताएको छ । आईतबार निर्वाचन सकिएपछि गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएका हुन्  ।


ADVERTISEMENT


उनले निर्वाचन बिथोल्ने गतिविधिको चेतावनी दिने समूहले चेतावनी अनुसार कुनै पनि गतिविधि नगरेको र निर्वाचन सम्पूर्ण रुपमा सफल भएको बताए । उनले सुरक्षा निकायको तदारुकता र कार्ययोजनाको कार्यान्वयनको मुख्य भुमिकाका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन पनि चुस्त भएको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको मैले पाएको छु । जुन किसिमका समूहहरुले निर्वाचन अवरोध गर्ने, बिथोल्ने खालका क्रियाकलाप गर्ने भन्ने आएका थिए तर त्यो अनुसार हेर्ने हो भने कहीँ पनि त्यो समूहले गर्दा कुनैपनि ठाउँमा बिथोलिने र निर्वाचनलाई अवरोध हुने कामहरु हुन सकेनन् । त्यसमा सुरक्षा निकायको तदारुकता र हाम्रो जुन कार्ययोजनाको कार्यान्वयनको मुख्य भुमिका रह्यो । निर्वाचन आयोग, निर्वाचनमा खटिएका सबै सुरक्षाकर्मी र सरकारको सफलता भयो ।’

गृहसचिव सिंहले आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरु र स्थानीयको केही उश्रृंखल क्रियाकलापले गर्दा केही स्थानहरुमा निर्वाचन स्थगित भएको बताए । निर्वाचन ८० स्थानमा अवरुद्ध भएपनि समन्वयबाट १५ वटा मतदान स्थल बाहेक अन्य सबै मतदान केन्द्रको मतदान सकिएको बताए । उनले बाँकी १५ वटा मतदान स्थलमा भने पूर्ण रुपमा मतदान हुन नसकेको बताए । उनले कतिपय स्थानमा ४ वटा मतपत्रहरु बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको बताए ।

‘केही आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरु र स्थानीयको केही उश्रृंखल क्रियाकलापले गर्दा केही स्थानहरुमा आजको निर्वाचन स्थगित भएको छ । विशेषतः ८० वटा स्थानमा त्यस्ता कार्यहरु भएका थिए । त्यो मध्ये हामीलाई प्राप्त जानकारी अनुसार १५ वटा स्थानमा मात्रै पूर्ण सम्पन्न नभएको, अरु तत्काल हामीले शुरु गरिसकेका छौँ । स्थगित हुनुको प्रमुख कारण ४ वटा मतपत्रहरु बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको भन्ने पनि छ । केहीमा भने मतदानमा रहेका प्रतिनिधिरुबीचको विवादले पनि केही अवरोधहरु भए । केही ठाउँमा भने स्थानीय र केही उश्रृंखल तत्वले निर्वाचनमा अवरोध गर्दा केही ठाउँमा रोकिए । तर हामीले तत्काल समन्वय गरेर निर्वाचन गरायौँ,’ उनले भने ।

गृहसचिव सिंहले मतदानमा रहेका प्रतिनिधिरुबीचको विवादले पनि केही स्थानमा अवरोध सिर्जना भएको पाइएको बताए । उनले थानीय र केही उश्रृंखल तत्वले निर्वाचनमा अवरोध गर्दा केही ठाउँको मतदान रोकिएको बताए ।