काठमाडौं – मोइन अली र सैफ हसनबीचको अविजित साझेदारीको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ।
जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो। काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा ओपनिङ ब्याटर मोइन अलीले अविजित ५८ रन बनाए। उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै, सैफ हसनले अविजित ४० रनको योगदान दिए। उनले ३९ बल खेले। मोइन र सैफले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए। जनकपुरले सुरुवातमै तृतराज दासलाई ५ र मयन यादवलाई ९ रनमा गुमाएको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा समेटिएको थियो। काठमाण्डुका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। अन्य ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा काठमाण्डु सामान्य योगफलमै सीमित भयो।
काठमाण्डुलाई कम स्कोरमा रोक्न जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए। सैफ हसनले २ तथा मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले समान एक विकेट हात पारे।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ। एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।



























