काठमाडौं – सेयर बजारमा बिहीबार उत्साह देखिएको छ। नेप्से परिसूचक ३१.५४ अंकले बढेर २ हजार ६९५ अंकमा पुगेको छ। यो साउन १२ गतेयताकै उच्च बिन्दु हो।
बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो दिन ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो वैशाख ३ गतेयताकै उच्च कारोबार हो।
आज कारोबारमा आएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढ्दा ९१ वटाको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहगत सूचक सकारात्मक रहे। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनलगायतका समूहमा वृद्धि देखिएको छ।
आज बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ। त्यस्तै, सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल पुनर्बीमाको ५.६१ प्रतिशत र नेपाल फाइनान्सको ५.४९ प्रतिशतले मूल्य वृद्धि भएको छ।
अर्कोतर्फ, एनआरएन इन्फ्रास्ट्रक्चर, चिरख्वा हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य घटेको छ। घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर आज सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।



























