काठमाडौं – राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको प्रमुख पाँच दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।


ADVERTISEMENT


बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमति खोजेका छन् । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रस्तावित एकल संक्रमणीय मतप्रणालीको समर्थन गरेका छन् ।


ADVERTISEMENT

# # #


तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल संक्रमणीय मतप्रणालीको विरोध गरेका छन् ।

‘प्रधानमन्त्रीले राष्ट्रपति कहाँ जुन अध्यादेश प्रस्तुत भएको छ त्यसमा सहमति चाहियो भन्नुभयो’ बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘अध्यादेश प्रस्तुत गर्दा सहमति भएन र सरकार आफैंले प्रस्तुत गरेको अन्तरवस्तुभन्दा भिन्न भयो । त्यसैले यसमा निष्कर्षमा पुग्न सकिएन ।’

कांग्रेस नेता विमलेन्द्र निधिले सरकारले प्रस्तुत गरेको अध्यादेशमा उल्लेख रहेको एकल संक्रमणीय मतप्रणालीमा फोरम र राजपाको पनि सहमति जनाएको बताए । ‘एमाले अध्यक्ष ओलीलीले यो असंवैधानिक हो, एकल संक्रमणीय मिल्दैन भन्नुभयो,’ निधिले भने,’महन्थ ठाकुर र उपेन्द्र यादवजीले हामी एकलसंक्रमणीय पक्षमा छौं भन्नुभयो ।’

बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका छन् ।

तर, कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएका छन् । बैठकपछि नेता रामचन्द्र पौडेलले भने, ‘सरकारले पठाएको अध्यादेश रोक्न मिल्दैन । तपाईहरु (एमाले-माओवादी)ले रोक्न भन्न पनि मिल्दैन ।’

प्रधानमन्त्री देउवाले भने आफू सरकार छाड्न तयार नै भएको बताएका छन् । ‘म छिट्टै मुक्त हुन चाहन्छु । जनताको जनोदश अनुसार सरकार बनोस् भन्न्न चाहन्छु’ देउवाको भनाइ उदृत गर्दै कांग्रेस नेता निधिले भनेका छन् ।