काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा प्रहार हुने प्रत्येक चौका र छक्काबाट दुर्लभ वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि इसेवाले आर्थिक योगदान गर्ने भएको छ ।
‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले प्रतियोगितामा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार र प्रत्येक चौकाबापत १ हजार रुपैयाँ योगदान गर्ने घोषणा गरेको हो । यस अभियानमा करसहित अधिकतम १० लाख रुपैयाँसम्म योगदान गरिनेछ ।
एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क र रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा यो अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानबाट संकलित रकम रेड पान्डाको प्राकृतिक बासस्थान पुनर्स्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न खर्च गरिनेछ । विशेषगरी इलाम र पाँचथरका सामुदायिक वन क्षेत्रमा सन् २०२७ को जुन–जुलाईमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमअन्तर्गत करिब १० हेक्टर क्षतिग्रस्त वन क्षेत्र पुनर्स्थापना गर्ने, १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने र स्थानीय समुदायका लागि ६०० श्रमदिन बराबरको पारिश्रमिकसहित रोजगारी सिर्जना गर्ने योजना छ । रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइनेछ ।
इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले एनपीएलको लोकप्रियता र क्रिकेटप्रेमीको उत्साहलाई प्रकृति संरक्षणसँग जोड्ने उद्देश्यले अभियान ल्याइएको बताए।
त्यस्तै, रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पा र रेड पान्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन्द्रबहादुर थकालीले पनि खेलकुदमार्फत जैविक विविधता संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को रातो सूचीमा सङ्कटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको संरक्षणका लागि बासस्थानको सुरक्षा र पुनर्स्थापना महत्वपूर्ण मानिन्छ ।
एनपीएल अवधिभर प्रत्येक चौका र छक्काबाट जम्मा हुने योगदानको विवरण इसेवाले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जनाएको छ ।


























