काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारका क्रममा २७ सय अंक पार गरेको नेप्से बजार बन्द हुँदा भने उक्त विन्दुभन्दा तल झरेको हो ।
शुक्रबार नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २ हजार ६९० दशमलव ०० विन्दुमा कायम भएको छ । कारोबारको मध्याह्नसम्म २ हजार ७१२ अंकसम्म पुगेको बजार अन्तिम समयमा भने दबाबमा परेको हो ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ । शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो गत वैशाख ३ गतेयताकै उच्च कारोबार हो भने पछिल्लो सात महिनाकै सबैभन्दा ठूलो रकम हो । अघिल्लो दिन बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको थियो ।
शुक्रबार कारोबारमा आएका २७९ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६९ कम्पनीको घटेको छ । आठ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
समूहगत परिसूचकतर्फ विकास बैंक समूह सबैभन्दा धेरै १ दशमलव ६१ प्रतिशतले बढेको छ । निर्जीवन बीमा, अन्य तथा व्यापार समूहमा पनि सामान्य वृद्धि देखिएको छ । तर बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूह भने घटेका छन् ।
आज बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्तको १२ दशमलव ११ प्रतिशत र लुम्बिनी विकास बैंकको सात प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यता मेन्छियाम हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सको सेयर मूल्यमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट, घलेम्दी हाइड्रोपावर, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावरलगायत कम्पनी अगाडि रहेका छन् ।
समग्रमा नेप्सेमा सामान्य गिरावट देखिए पनि कारोबार रकममा आएको उच्च वृद्धिले शुक्रबारको बजारलाई विशेष बनाएको छ ।


























