पोखरा – जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले मुस्ताङबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी ठेगाना भएका ४७ वर्षीय नारायण घिमिरे रहेका छन्। उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कास्की कारागारको भवनमा तोडफोड तथा आगजनी भएपछि कारागारबाट फरार भएका थिए।


ADVERTISEMENT

#


प्रहरीका अनुसार घिमिरे जबरजस्ती करणी कसुरमा १५ वर्ष ८ महिना १ दिन कैद सजाय भोगिरहेका थिए। कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

खोजतलासका क्रममा उनलाई २०८३ कात्तिक १२ गते बिहान १० बजे मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छेलेस्थित लिवन होटल एन्ड रेस्टुरेन्टमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।


ADVERTISEMENT

#
#


नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी बाँकी रहेको १२ वर्ष कैद सजाय भुक्तानका लागि कारागार कार्यालय कास्कीमा बुझाएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिइरहेको छ।