काठमाडौँ – सर्वोच्च अदालतले नाबालिका बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपलाई विदेश जानका लागि अनुमति दिन अस्वीकार गर्दै उच्च अदालतको पुस २८ गतेको आदेशलाई यथावत राखेको हो ।


ADVERTISEMENT


सर्वोच्चले उच्च अदालतको आदेश विरुद्ध पीडितकातर्फबाट गरिएको निवेदन पनि सर्वोच्चमा विचाराधीन रहेकाले सन्दीपको मागका विषयमा छुट्टै आदेश दिन उपुक्त नहुने ठहर गरेको छ । साथै सर्वोच्चले एकै मद्दामा वादी र प्रतिवादीबाटै निवेदन आएकाले दुवै निवेदनलाई एकैसाथ सुनुवाई गर्नुपर्ने निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT

# # #


आदेशमा भनिएको छ, ‘उच्च अदालतको आदेशउपर यस अदालतको संयुक्त इजलासमा सुनुवाई प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन उपरको सुनसवाई कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको निवेदन माग अनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिव देखिएन । उही एउटै मुद्दामा वादी प्रतिवादी दुवै पक्षका निवेदन पर्न आएको अवस्था हुँदा दुवै निवेदन उपर एकैसाथ सुनुवाई हुनु आवश्यक देखिन्छ ।’

उच्च् अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय पनि सर्वोच्च पुगेको छ । उसले सन्दीपलाई पुर्पक्षका लागि पुनः थुनामा पठाउनुपर्ने माग राखेको छ ।

आगामी हप्ताको सुरुवातमै क्रिकेट सिरिज हुने भएकाले सुनुवाई ढिलो हुँदा सन्दीपको मागको मूल प्रायोजन नै सकिने भन्दै सर्वोच्चले आइतबार नै दुवै मुद्दाको सुनुवाई एकैसाथ गर्न आदेश दिएको हो । नेपालले फागुन १५ गते (सोमबार)देखि युएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ ।

नुवाकोटकी एक नाबालिकाले आफूलाई सन्दीपले बलात्कार आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको सन्दीपलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । साथै विदेश भ्रमण गर्न रोक लगाउनुका साथै काठमाडौँ छाड्नुपरे पनि प्रहरीको अनुमति लिनुपर्ने लगायतका शर्त राखेको थियो ।

तर, उच्च अअदालतको उक्त आदेश विरुद्ध सन्दीप सर्वोच्च पुगेका थिए । उनले आफूलाई तोकिएको धरौटी रकम चर्को भएको, विदेश जानबाट लगाइएको रोक हटाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सन्दीप धरौटीमा रिहा भएपछि राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका थिए । उनले आईसीसी विश्वकप लिग–२ अन्तगर्त गत फागुन २ गतेदेखि काठमाडौँमा भएको नेपाल–नामिबिया–स्कटल्याण्डबीचको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सोक्रममा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए ।

युएईमा घरेलू टोली र पपुवा न्यूगिनीसँग एकदिवसीय सिरिज खेल्नका लागि सन्दीपलाई अनुमति दिन नेपाल क्रिकेट संघ (क्यान)ले समेत माग गरेको थियो । तर, सर्वोच्चले सन्दीपलाई विदेश जाने प्रतिबन्ध लगाएको उच्च अदालत पाटनको आदेशलाई यथावत गरेको हो ।