काठमाडौं – ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि बिनिता गुरुङले जितेकी छन् । विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको छैटौँ संस्करणमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले ताज पहिरिएकी हुन् ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित भव्य ग्राण्ड फिनालेमा गुरुङ विजेता घोषित भएकी हुन् । रिबन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा विभिन्न विधाका विजेतासमेत चयन गरिएको छ ।
प्रतियोगितामा नेहा गुप्ता फर्स्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप बनेका छन् । त्यस्तै, शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’, क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’ र रिचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल’ को उपाधि हात पारेका छन् ।
विवाहित महिलाहरूको क्षमता, प्रतिभा, व्यक्तित्व विकास र आत्मविश्वासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षतामा सम्पन्न ग्राण्ड फिनालेको नेतृत्व अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाले गरेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा तथा सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायत सहभागी थिए । निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिका आधारमा मूल्याङ्कन गरेका थिए ।
यस प्रतियोगितामार्फत विवाहित महिलाहरूको क्षमता र सम्भावनालाई पहिचान गर्दै उनीहरूलाई आफ्नो पहिचान स्थापित गर्ने अवसर प्रदान गरिएको आयोजकको भनाइ छ ।


























