सुर्खेत- डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका छन् ।
१५ जना सुरक्षाकर्मी खटिएको कारागारबाट कैदीबन्दी भागेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । १५० जना कैदीबन्दी राख्न सक्ने क्षमता रहेको कारागारमा घटनाका बेला १७ जना मात्रै कैदीबन्दी थिए । तर, उनीहरूमध्ये ८ जनाले करिब ४ दशमलव ४३ मिटर लामो सुरुङ खनेर शनिबार बिहान फरार भएका हुन् ।
फरार हुनेमा जबर्जस्ती करणी मुद्दाका ५ र चोरी मुद्दाका ३ जना रहेका छन् । उनीहरू एउटै कोठामा बस्दै आएका थिए । कैदीबन्दी भागेको जानकारी शनिबार बिहान पौने ६ बजे मात्रै खुलेको कारागार प्रशासनले जनाएको छ ।
कारागारको सेफ्टी ट्याङ्कीबाट सुरुङ खनेर पर्खालबाहिर निस्कने बाटो बनाइएको प्रारम्भिक विवरणमा उल्लेख छ । राति पानी परेको र विद्युत् आपूर्ति अवरुद्ध भएको समयमा घटना भएको जेलरको भनाइ छ । तर, झ्यालको रड निकाल्नेदेखि सेफ्टी ट्याङ्की फोडेर लामो सुरुङ खन्नेसम्मका गतिविधि सुरक्षाकर्मीले थाहा नपाउनुले नियमित निगरानी र गस्ती व्यवस्थामाथि प्रश्न उठाएको छ ।
घटनापछि फरार कैदीबन्दीको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी डेढ सयदेखि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले फरार व्यक्तिहरूको नाम र तस्बिर सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यस घटनाले कारागारको भौतिक संरचना, सुरक्षा निगरानी र व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।


























