काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको साझा नीतिगत प्रतिवद्धताका आधारमा नयाँ सरकारले पूर्ण आकार लिने बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले अहिले सरकारको साझा नीति तथा कार्यक्रमसहितको नीतिगत प्रतिवद्धतामाथि गठबन्धनभित्र छलफल भइरहेको भन्दै त्यसैको आधारमा सरकारले पूर्ण आकार लिने बताएका हुन् ।
उनले बाहिर चर्चामा आएजस्तो आफ्नो पार्टीले कुनै विशेष मन्त्रालयमा दाबी नगरेको दाबी गरे । मुलुकको अर्थतन्त्रलाई बुझ्ने र समस्या समाधान गर्ने व्यक्तिलाई अर्थमन्त्रालयको र देशका सामू देखिएका चुनौती र अन्तराष्ट्रिय परिस्थीतिलाई मूल्याङ्कन गर्न सक्नेलाई परराष्ट्रको जिम्मेवारी दिनुपर्नेमा जोड रहेको धारणा राखे
उनले भने, ‘मेरो मुखबाट गृह, अर्थ निस्केको छैन । मैँले के भनेको छु भने अर्थ मन्त्रालय यस्ते व्यत्तिलाई दिनुहोस्, जसले देशको अर्थतन्त्रका समस्यालाई राम्रोसँग बुझेको छ र समस्याको कारणहरु पत्ता लगाउन सक्छ र त्यसको समाधान दिन सक्छ ।’ अध्यक्ष नेपालले एक वा दुई मन्त्रालय आफ्नो पार्टीका लागि कम हुने समेत बताए ।
उनले पछिल्लो समय सभामुखको कार्यशैलिले आपसी विश्वास कायम नरहने भएकाले संसदको नियमावलीमा विस्तृत रुपमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने जिकिर गरे ।