काठमाडौं – नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिनको माग गरेको छ। कांग्रेसले घटनाको सत्यतथ्य छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने स्पष्ट अडानसमेत सार्वजनिक गरेको छ।
लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालन गर्ने अधिकार भए पनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको उल्लेख गर्दै कांग्रेसले सरकारका पछिल्ला गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको जनाएको छ।
कांग्रेस संसदीय दलका अनुसार पक्राउको स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीतको कार्य हो। यस्तो गतिविधिलाई स्वेच्छाचारिताको संज्ञा दिँदै कांग्रेसले यसको जवाफ सरकारले दिनुपर्ने बताएको छ।
कांग्रेसले वर्तमान सरकारले जनसरोकारका विषय, सुशासन र सही कार्यहरू अघि बढाउँदा आफ्नो समर्थन रहने तर लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणजस्ता आधारभूत मान्यताविपरीत सरकार अघि बढे त्यसको सशक्त विरोध गर्ने आफ्नो नीति रहेको स्पष्ट पारेको छ।
त्यस्तै, न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण रहनुपर्ने र सरकारका हरेक काम कानुनले निर्धारण गरेको उचित प्रक्रिया (Due Process of Law) अनुसार हुनुपर्ने कांग्रेसको भनाइ छ। सरकारका गतिविधिमा जवाफदेहिताभन्दा आफूले जे गरे पनि हुन्छ भन्ने मानसिकता र प्रवृत्ति देखिएको आरोप लगाउँदै कांग्रेसले यस्ता घटनाक्रमले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउने र आफूअनुकूलको शासन स्थापित गर्ने सुनियोजित प्रयासको संकेत गरेको जनाएको छ।
कांग्रेस संसदीय दलले पत्रकार धरपकडलगायत विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। त्यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने कांग्रेसको स्पष्ट अडान छ।


























