काठमाडौँ– अमेरिकाले नेपालमा धार्मिक कुटनीति थालेको छ । धर्मसम्बन्धि एक प्रतिवेदनको आडमा अमेरिकाले पूर्वीय धर्ममाथि आफ्नो जालो बिछ्याउन खोजेको हो ।
नेपाली तथा पूर्वीय धर्मलाई लक्षित गर्दै अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ सार्वजनिक गरेका छन् । जसमा नेपालमा धार्मिक समुदायको दुर्दशा हुँदै गएको उनले दाबी गरेका छन् । नेपालमा धर्म परिवर्तनका लागि वातावरण सहज नभएको उनको तर्क छ । नेपालमा तिब्बती बौद्ध धर्मावलम्बी नेताहरूले धार्मिक गतिविधि गर्न पछिल्लो वर्ष सहज भए पनि क्रिश्चियनलाई कठिनाइ बन्दै गएको अमेरिकी विश्लेषण छ ।
नेपालसहित भारतमा जोड दिदैँ १३ पृष्ठे लामो प्रतिवेदनमा सन् २०२२ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका धर्मसम्बन्धिका विभिन्न घटनाहरूलाई समावेश गरिएको छ । जसमा धर्मान्तरण गराउने क्रिश्चियन धर्मावलम्बीलाई पक्राउ गरिएको समेत उल्लेख छ । र, यसैलाई उनले क्रिश्चियनहरूमाथि जबरजस्ती धर्मान्तरणको नाममा कानूनको अत्यधिक प्रयोग गरिएको संज्ञा समेत दिएका छन् ।
प्रतिवेदनमाथि मौन सरकार
धर्मको सम्बन्धमा अमेरिकाले निकालेको उक्त प्रतिवेदनले यतिबेला विश्वका धार्मिक नेता तथा निकायहरुको ध्यान खिचेको छ । यस सम्बन्धमा भारतले भने अमेरिकाले उक्त प्रतिवेदनलाई ’त्रुटिपूर्ण’, ’प्रेरित’ र ’पक्षपाती’ ढङ्गबाट प्रस्तुत गरेको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रतिवेदन ‘गलत सूचना र गलत बुझाइ’ मा आधारित भएकोमा दुःखको विषय भएको प्रतिक्रिया समेत दिएका छन् ।
यद्यपि यस अवधिसम्म नेपालको ध्यान भने उक्त प्रतिवेदनसम्म पुगेको देखिदैँन । हिन्दु धर्म तथा पूर्वीय संस्कृतिको विषयमा विश्वभर विभिन्नन विश्लेषण शुरु भइसक्दा पनि नेपाल सरकार भने अहिलेसम्म मौन देखिएको छ ।
रिपोर्टमा नअटाएको अमेरिकाको धार्मिक उदारता कति ?
विश्वभरका धर्मलाई खण्डन गरी रिपोर्ट जारी गरेको अमेरिकाले उक्त प्रतिवेदनमा आफैँलाई भने समेटेको छैन । अर्थात् विश्वका विश्लेषण गर्दै २०१ देशको व्याख्या गरेको अमेरिका भने आफैँ उक्त प्रतिवेदनमा अटाएको देखिदैँन ।
क्रिश्चियनको बाहुल्य रहेको अमेरिका स्वयमको धार्मिक उदारतालाई हेर्ने हो भने धर्मसम्बन्धि त्यहाँको कानुन कानुनमै मात्र सिमित देखिन्छ । त्यहाँ रहेको अल्पसंख्यकहरूको अवस्था राम्रो देखिदैँन । जसकारण पनि त्यहाँ अल्पसंख्याकहरुमाथि कुटपिटदेखि लिएर मन्दिर मस्जिदमा आक्रमण हुने गरेकोसम्मका घटनाहरु बेलाबखतमा सुनिरहन पाइन्छ । त्यहाँ हिन्दू, सिख, मुस्लिममाथि अमानवीय व्यवहार भएका घटना पनि बेलाबखत दोहोरिरहन्छन्।
जसक्रममा सन् २०१९ मा एक हिन्दू पुजारीलाई न्यूयोर्कमा धार्मिक लुगा लगाएको कारण कुटपिट गरिएको, मन्दिरको भित्तामा पनि ‘येशू मात्र ईश्वर हुन्’ लेखिएको, एयरलाइन्समा काम गर्ने एक मुस्लिम कर्मचारीलाई दूर्व्यवहार गरेको तथा मन्दिर तोडफोड लगायतका थुप्रै घटनाहरु घटेका छन् । जसलाई अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईकोले अमेरिकामा अल्पसंख्यक समुदायविरुद्ध ‘घृणा अपराध’ बढेको बताएको छ ।
सन् २०२१ मा यहूदीहरूविरुद्ध घृणा अपराधका ३२४ घटनाहरूमा मुद्दा दर्ता गरिएका थिए । त्यस्तै सिखहरूविरुद्ध २१४ मुद्दाहरू दर्ता गरिएको थियो ।यसबाहेक मुस्लिमविरुद्ध ९६, क्याथोलिकविरुद्ध ६२, बौद्धविरुद्ध २९ र हिन्दूविरुद्ध १० मुद्दा दर्ता भएका छन् । धार्मिक आधारमा १० वर्षमा १२ हजार ७ सय ३८ घृणित अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ७ हजार २ सय ४३ मुद्दा यहूदीहरूविरुद्ध थिए । जहाँ मुस्लिम विरुद्ध १ हजार ८ सय ६६, सिखविरुद्ध ४ सय ३१ र हिन्दूविरुद्ध ६४ मुद्दा परेका छन् ।
यसरी आफैँ धार्मिक उल्झनमा अल्झिएको अमेरिकाको उक्त प्रतिवेदनलाई कतिपय विद्वानले नेपालको धार्मिक सहिष्णुतामाथिको षड्यन्त्र समेत भनेका छन् ।