काठमाडौँ – नेकपा माओवादी केन्द्रले लडाकु शिविर व्यवस्थापनमा कुनै घोटाला नभएको जनाएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनको जिम्मा राज्यले लिएको भन्दै शिविर व्यवस्थापनमा कुनै घोटाला नभएको जनाएको हो ।


ADVERTISEMENT


शान्ति प्रक्रियालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनका लागि करिव ४६ करोड पेश्की व्यवस्थापन गरिएकोमा सो रकम अनुदानमा परिणत गर्न शान्ति मन्त्रालयको सिफारिसमा सरकारको निर्णयलाई आधार बनाएर महालेखा परीक्षकले २०६९ जेठमा सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी समपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरवारमा पठाएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको उनले बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण केहीले नियोजित रुपमा लडाकु शिविरबारे प्रश्न उठाएको बताए । त्यस्तै माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी कारवाही प्रक्रियाले राष्ट्रिय अपराधीहरुलाई कारवाही गरी राष्ट्रको शान जोगाउन खाजिएको र यसले समग्र उत्साह र मनोबल उठेको जनाएको छ ।

उक्त प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्न र कुनै पनि प्रकारको सम्झौता नगरोस् भन्ने पार्टीको विशेष आग्रह रहेको उपाध्यक्ष महराको भनाइ छ । “नक्कली भुटानी शरणार्थीको प्रकरणमा सरकारले चालेको कदमले आम जनतामा सकारात्मक प्रभाव पारेको छ, पार्टीले यसअघि नै सरकारलाई खुट्टा नकमाइ अघि बढ्न भनिसकेको छ”, उनले भने ।

प्रवक्ता महराले पछिल्लो समय पार्टीका शीर्ष नेताबीच भइरहेको भेट सम्झौतामा आधारित नभएकाले त्यस रुपमा नलिन आग्रह गरेका छन् । महराले सरकारले आफ्नो गतिमा नेपाल र नेपाली जनतालाई सकारात्मक सन्देश दिन खोजेको बताए ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल बलदेवले अयोग्य लडाकूलाई रकम दिने निर्णय अहिले नभएर धेरै पहिलेको सरकारले गरेको निर्णय भएपनि पटक पटक रोकिएको बताए । लडाकु शिविरका विषयमा सांसदमा अवाज उठाउनुको कुनै तुक नरहेको भन्दै यस विषयमा अध्ययन गरेर मात्रै बोल्न सुझाव दिए ।

त्यस्तै माओवादी केन्द्रले सरकारले अघि सारेको नीति तथा कार्यक्रम सकारात्मक रहेको र यसले मुलुकलाई सकारात्मक दिशतर्फ अघि बढाउन मद्धत पुग्ने विश्वास व्यक्त गरेको छ ।