काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने सहमतिसंग संसदको अवरोध हट्ने भएको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विपक्षी दलले मागेको जवाफ दिने भएसंगै सदन अवरोध हट्ने भएको हो ।
भारत भ्रमणका क्रममा भएको भारतको चारदिने औपचारिक भ्रमण सकेर शनिवार मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाललाई बंगलादेशसम्म पुग्ने बाटोको सट्टामा लिपुलेक–लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पमा कुरा भएको उल्लेख गरेका थिए।
सोही अभिव्यक्तिलार्ई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर जवाफ मागेका थिए । एमालेसंगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए । पतीपक्षी दलको अवरोधसंगै बैठक आजको लागि सारिएको थियो ।
सदन अवरोध हटाउन सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिएको छ । प्रधानमन्त्रीसंग केहीबेर फोनवार्ता पछि सभामुख घिमिरेले सचेतकहरुसंग छलफल गरेका हुन् ।