काठमाडौं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा सरकारले थापालाई अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष थापाले बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्षलाई बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन्।
अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विश्वसनीयता, प्रभावकारिता र पहुँच अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्राधिकरणको नियामकीय भूमिकालाई प्रभावकारी बनाउँदै बीमा क्षेत्रका चुनौती समाधान गर्न सक्रिय हुनसमेत निर्देशन दिएका छन्।


























