काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी राजन विक्रम थापाले सम्हालेका छन् । करिब तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बिहीबारदेखि औपचारिक रूपमा प्राधिकरणको नेतृत्वमा पुगेका हुन् ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकका रूपमा कार्यरत थापा लघुवित्त संस्था सुपरिवेक्षण विभागको जिम्मेवारीमा थिए । राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधिका कारण आगामी चैतमा अवकाश पाउने तयारीमा रहेका उनलाई सरकारले अवकाशअघि नै बीमा क्षेत्रको नियामक निकायको नेतृत्व सुम्पिएको हो ।
बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण, नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा अनुभव हासिल गरेका थापाले यसअघि राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक तथा लगानी समिति संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्य र लगानी समिति संयोजकका रूपमा पनि उनले काम गरेका छन् ।


























