नवलपरासी— नवलपरासीमा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ ।


ADVERTISEMENT


कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको  सहभागिता रहेको प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४त्रिभुवनटार दोस्रो  र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भए । खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


मुखुन्डो लगाएर लाखेहरू नाचगान गरिरहेका थिए भने हेर्नेको त्यस्तै भीड थियो । कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि जिल्लास्तरीय लाखेनाच सञ्चालन गरेका हुन् ।

नवलपुरभरिका नेवाः गुठीबाट प्रतियोगी समावेश गरी लाखेनाच प्रतियोगिता गरिएको भीमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागतरूपमा मनाइने लाखेनाच पर्व जोगाउन लाखेनाच प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेको उनले बताए । ‘बाजाको तालमा प्रस्तुत लाखेनाचमा दर्शक रमाउनुभयो,’ उनले भने, ‘विभिन्न नेवाः समुदायको लाखे प्रस्तुति जिल्लामा नै पहिलोपटक एकैठाउँमा अवलोकन गर्ने अवसर सबैलाई मिलेको छ ।’

लाखेनाचले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ । लाखेअन्तर्गत कृष्ण प्रस्तुति, चटकी देखि लाठीनाचसम्मको प्रस्तुति भएको अध्यक्ष श्रेष्ठले बताए । ती प्रस्तुतिमा नेवारी उत्कृष्ट संस्कृतिको खोजी भएको थियो । ‘लाखेनाच संरक्षण र संवर्द्धनको उद्देश्यले खाना परिकार मेलासँगै लाखे प्रतियोगिता गरिएको हो,’ उनले भने ।

पछिल्लो समय आदिवासी जनजातिभित्र रहेका नेवारी समुदायको विभिन्न किसिमका परम्परागत संस्कार र संस्कृति लोप हुँदै गइरहेको संविधान सभा सदस्य जीवन श्रेष्ठ बताउँछन् । लोप हुने अवस्था रहेको संस्कार, संस्कृतिको जगेर्ना गर्ने गरी जिल्लामै लाखेनाच प्रतियोगिता गर्नु सराहनीय कार्य भएको दर्शकले बताएका छन् । नेवारी समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्ने लाखेनाच देशका विभिन्न भूभागमा लोकप्रिय छ ।

नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म लाखेनाच दिनहुँ देखाइन्छ । सामाजिक परम्परासँग जोडिएको लाखेनाच कंसको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप लाखे र अन्य मखुन्डोधारी उसका सहयोगी सामूहिक रूपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् ।