काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले बुधबार भएको मतदानमा प्रदेशसभाबाट विश्वास आर्जन गर्न सफल भएका छन् ।


ADVERTISEMENT


यससँगै कोशीमा तत्कालका लागि मध्यावधिको खतरा टरेको छ । कूल ९३ सदस्य रहेको कोशी प्रदेशसभामा बुधबार ९१ जना सांसद उपस्थित थिए । जसमध्ये कार्कीको पक्षमा ८६ जना सांसदले मत दिएका हुन् । उनको विपक्षमा जम्म ५ जनाले मत दिएका थिए ।


ADVERTISEMENT

# # #


उक्त मत प्रदेशसभाको बहुमत भएको भन्दै उपसभामुख सिर्जना दनुवारले कार्कीले विश्वासको मत पाएको घोषणा गरेकी हुन् । मुख्यमन्त्री कार्कीलाई नेपाली काँग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका रुपमा मुख्यमन्त्री बनेका एमालेका हिक्मत कार्कीले असोज २० गते राजीनामा दिएका थिए । त्यसपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङुबोलाई अघि सार्ने निर्णय गरेको थियो । तर, नेपाली काँग्रेसको शेखर कोइराला निकट कार्की विद्रोह गर्दै एमालेको मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सत्ता गठबन्धन पछि हट्दै कार्कीलाई नै समर्थन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।