काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले बुधबार भएको पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको हो ।
बुधबार काठमाडौँको मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो ।
नेपालको जितका लागि कप्तान रोहित पौडेलले अर्धशनकीय पारी खेले । उनले ४० बलमा ५ चौकाको मदतमा नटआउट ५१ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले २३ बलमा ३ चौका र १ छक्काकोसहित ३४ रनमा नटआउट रहे ।
नेपालले ५१ रन बनाउँदा ३ विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका उनले कप्तान रोहितसँग मिलेर नटआउट ९३ रनको साझेदारी गरेका हुन् । यस्तै आशिफ शेखले २७ बलमा २ चौका र १ छक्का हान्दै २३ रन बनाएर आउट भए भने कुशल भुर्तेलले कुशल भुर्तेलले १४ तथा कुशल मल्ल ११ रनमा आउट भए ।
बलिङतर्फ युएईका अलि नसिर र निलांश केशवानीले समान १–१ विकेट लिए । यसअघि खराब सुरुवात गरेको युएईका लागि सम्मानजनक स्कोरतर्फ पुर्याउने क्रममा बासिल हमिदले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा १ चौका र ४ छक्काको मदतमा ५१ रन बनाए । यस्तै अलि नसीरले ३० बलमा ३ चौका र १ छक्काको मदतमा ३२ रन जोडे । कप्तान मोहम्मद वासिमले १७ तथा आशिफ खानले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यसक्रममा उनले ४ ओभरमा १८ रन मात्रै दिए । यस्तै गुल्शन झाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीका नाममा १–१ विकेट रह्यो ।
त्रिकोणात्मक सिरिजमा नेपाल, युएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । यो सिरिजलाई कार्तिक १३ देखि काठमाडौँमा सुरु हुने आईसीसी टी–२० विश्वकप छनोट एशिया क्षेत्र छनोट प्रतियोगिताका लागि तयारीका रुपमा हेरिएको छ ।
नेपालदले सिरिजको दोस्रो खेल भोलि हङकङसँग मुलपानी मैदानमा बिहान ११ बजे खेल्नेछ ।