काठमाडौं – लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ ।

गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका बिभिन्न स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको हो । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् । सवैभन्दा बढि भक्तजन पुग्ने गौरीघाटमा एकैसाथ ५ सय बढि व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ ।


ADVERTISEMENT

#


यस बर्षको छठ पर्वअन्तर्गत कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिदैछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ । विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि मनाइने गरिन्छ ।