काठमाडौँ – नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवापछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन, नेपालको संक्रमणकालीन न्यायको प्रक्रिया, विश्व शान्ति स्थापनाका लागि नेपालले खेलेको भूमिका लगायतका विषयमा कुराकानी भएको बताए । उनले भने, ‘हामीले बडो सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ छलफल गर्यौं । मुख्य रुपमा जलवायु परिवर्तनका विषयमा हामीले गम्भीर रुपले चर्चा गर्यौं ।’
भेटमा नेपालमा जलवायु परिवर्तनका नकात्मक परिणाम कम गर्नका लागि लागि महासचिवले खेलेको भूमिकाको चर्चा भएको बताए । साथै नेपालको संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन, सामाजिक तथा आर्थिक विकासमो संयुक्त राष्ट्रसंघसंग नेपालका अपेक्षा लगायतका विषयमा आफूले धारणा राखेको उनले बताए ।
उनले भने, ‘हामी अतिकम विकसित मुलुक (एलडीसी)बाट २०२६ मा स्तरोन्नती हुँदैछौँ । त्यो प्रक्रियालाई सहज बनाउन तथा २०३० सम्मका लागि राखेका दिगो विकासका लक्ष्यहरुलाई हासिल गर्नका लागि सहजताका विषयमा समेत असध्यै सकारात्मक छलफल भयो ।’
महासचिव गुटेरेसलाई नेपालको शान्तिप्रक्रिण, जलवायु परिवर्तनको अवस्थाबारे राम्रोसँग थाहा भएकाले त्यसबारे उनले आफ्नो धारणा राखेको बताए । साथै विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाले खेलेको भूमिकाको समेत महासचिव गुटेरेुसले प्रशंसा गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले भने, ‘नेपालले शान्ति सेनाको रुपमा विश्व शान्तिका लागि खेलेको भूमिकाप्रति उहाँले नेपाली सेना, नेपाल प्रहरीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । साथै हामीले आफ्नो योगदान अनुसार मैदानमा र केन्द्रीय कार्यालयमा समेत हाम्रो सम्मान होस् भन्ने कुरा राख्यौँ ।’
प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको भ्रमणपछि नेपाल र राष्ट्रसंघको बीचमा तथा अन्तर्राष्ट्रिय समुदायको सम्बन्धलाई सहजीकरण गने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।