काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको आईसीसी टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज सिंगापुरविरुद्ध पहिले बलिङ गरिरहेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगितामा एशियाका ८ देशले प्रतिस्पर्धा गर्दैछन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ र नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ सिंगापुर, ओमान र मलेसिया छन् । यस्तै समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
छनोटको पहिलो खेलमा नेपालले सोमबार सिंगापुरसँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुँदैछ । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्न पाउनेछन् ।